उतारचढावपछि ३ अंक बढ्यो नेप्से

  • तीव्र उतारचढावबीच बुधवार (आज) नेप्से परिसूचक ३ दशलमव ८० अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २ हजार ७८६ दशलमव ४० विन्दुमा कायम भएको छ । ‘इन्ट्राडे’मा भने नेप्से २ हजार ८६० दशमलव ८९ विन्दुसम्म पुगेको थियो ।
    यसअघिका दुई कारोबार दिनमा घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि बजार २८ सयको विन्दुमा पुगेको थियो । तर, बजारमा पुन: विक्रेता हाबी भएपछि दिनको कारोबार सकिँदा नेप्सेले २८ सयको विन्दु छुन सकेन । पछिल्लो दुई कारोबार दिनमा भने बजार १९१ दशमलव ८४ अंक घटेको थियो ।

    आज परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन साढे १८ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज १३ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ ।

    यसअघि बजार बढेको मौकामा शेयर विक्री गरेकाहरूले ‘पर्ख र हेर’कै रणनीतिमा लिएकाले कारोबार रकम घटेको जानकार बताउँछन् ।
    प्रोफिट बुक गरिसकेपछि लगानीकर्ताहरू बजार पस्नका लागि पुनः उपयुक्त समय कुर्छन् । यसैकारण अहिले क्रेता पक्ष अलि कमजोर देखिएको जानकार बताउँछन् । तर, बजार बढेका बेला शेयर विक्री गरेकाहरूले उपयुक्त समय आएपछि पुनः खरीदक्रम बढाउने उनीहरूको भनाइ छ ।
    यस दिन ३२६ धितोपत्रको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर १ लाख ६८ हजार १७५ पटकमा रू. १३ अर्ब ७२ करोड बराबरको कारोबार भएको छ ।

    कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । लिवर्टीको शेयर मूल्य रू. ३११ दशमलव ३०, हिमालयन हाइड्रोपावरको रू. ४६२ र मिड सोलु हाइड्रोपावरको रू. ९९५ दशमलव ६० पुगेको छ ।
    बुधवार कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ८८ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९० कायम भएको छ । त्यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव १६ प्रतिशत घटेर रू. १ हजार ६६ मा झरेको हो ।

    आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा चन्द्रागिरी हिल्सले ओेगटेको छ । यस कम्पनीको रू. ४३ करोडभन्दा बढीको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २५ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्स छ । कम्पनीको रू. ४१ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

    कारोबारमा आएका १३ समूहगत सूचकमध्ये सात समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये लगानी समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०१ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक १ दशलमव ६९ प्रतिशत घटेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation