कृषि मन्त्री अधिकारीसँग युएसएआइडीका मिसन डाइरेक्टरको शिष्टाचार भेट
कृषिमा लगानी बढाउन मन्त्री अधिकारीको जोड
वि.सं.२०८१ भदौ १३ बिहीवार ११:२२
shares

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोबीच शिष्टाचार भेट गरेका छन् ।
कृषि मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देश (नेपाल र संयुक्त राज्य अमेरिका)बिचको आपसी सद्भाव, समझदारी, सहयोगका साथै विविध विषयमा छलफल भएको हो ।
भेटका क्रममा मन्त्री अधिकारीले अमेरिकाले सन् १९५० को दशक देखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे ।र, आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि उनले आग्रह गरेका छन् ।
नेपाल सरकारले दिगो विकास लक्ष्य प्राप्तिको लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढवा दिने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक एवं बाह्य बजारमा सहज पहुँचा राख्ने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटन समेतको सम्भावनालाई साकार पार्ने योजना रहेको मन्त्री अधिकारीले भेटका क्रममा उल्लेख गरे ।
आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको अधिकारीले बताए ।
युएसएआइडी मिसन डाइरेक्टरले अधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको आश्वासन दिएका छन् ।












