कालोबजारी र कृत्रिम अभाव रोक्न गृहमन्त्रीको निर्देशन
वि.सं.२०८१ भदौ १३ बिहीवार १२:५३
shares

गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृत्रिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गुणस्तरहीन वस्तु विक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘कृत्रिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग हुनुसक्छौं । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्यो ।’
यसपालीको चाडपर्वमा तीन–चार कुरामा परिणाम देखिनेगरी काम गर्नुको साथै दसैं तिहारका बेला एकै रातमा हुने मुल्यवृद्धिलाई सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्न पनि गृहमन्त्री लेखकले निर्देशन दिएका छन् ।
उनले सरोकारावाला पक्षमा समन्वय हँदा परिणाम दिन सकिने भन्दै चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मुल्यांकन हुने बताए । छलफलमा गृहसचिव एकनारायण अर्यालले सरकार भनेको प्रहरी भएको भन्दै बजार अनुगमनमा तीव्रता दिनुपर्ने बताए ।
उनले वाणिज्य विभागले सबै सहायक जिल्ला अधिकारीसँग जुम मिटिङ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै यसपाली दसैंमा सुपथ पसल बढाउने र कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण संरक्षण विभागका महानिर्देशक राजन पौडेलले छलफलमा बजार अनुगमनको अवस्था, बजार अनुगमनको अपेक्षा, अत्यावश्यक दैनिक खाद्य तथा उपभोग्य वस्तुहरुको आपूर्तिबारे जानकारी गराउनु भएको थियो। यस्तै बजार अनुगमनको दोहोरोपना हटाएर सरकारले मुल्य निर्धारणको हक राख्नुपर्नेमा सरोकारवालाहरुको जोड थियो ।













