खेलकुद पत्रकार मञ्च र प्लाजा होटल्स ग्रुपबीच सम्झौता

1.05K
shares

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार प्लाजा होटल्स ग्रुपसँग सहप्रायोजन सम्झौता गरेको छ ।

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

पल्सर स्पोर्टस अवार्ड यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुनेछ । स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्ष प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक हुने भएको छ ।

पिपल्स च्वाइस विधामा ५ खेलाडीको मनोनयन परेका छन् । समर्थकको मतका आधारमा चुनिने यस विधाको मनोनयनमा कविता भट्ट (भलिबल), प्रीति राई (फुटबल), गुलसन झा (क्रिकेट), श्रीराम श्रेष्ठ (रग्बी) र मानमती विष्ट (कबड्डी) परेका छन् । मनोनयनमा परेका खेलाडीका लागि ई–सेवाबाट भोटिङ भइरहेको छ ।

त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिनेछ । त्यसबाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।

सह–प्रायोजक बनेवापत प्लाजा होटल्स ग्रुपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ ।

सम्झौता कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटल ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा ग्रुपका प्रवन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे ।