‘हराएका वर्षहरु’का प्रकाशलाई दाताले जग्गा दिएपछि बन्ने भयाे घर 

1.55K
shares

युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’का पात्र प्रकाश तामाङका लागि घर निर्माण गर्न सुरु गरिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रुपमा नयाँ बन्ने घरको शिलान्यास गरेका थिए ।

गेसोका अध्यक्ष राईले आफ्नो पुर्ख्याैली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिएका छन् । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ ।

घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ । लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द–१० साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आइपुगेका थिए । आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताए ।

प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ । साथै उहाँको घरमा गएर सरकारी टोलीले प्रकाशको जन्मदर्ता र नागरिकतासमेत बनाइदिएको छ ।