भक्तपुरको प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध प्रशासनलाई ध्यानाकर्षण

936
shares

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध आन्दोलनरत स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गर्दै विहीबार प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाएका हुन् ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभैरहेको र दैनिक दुईदेखि चारजना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको आन्दोलनकारीको भनाइ छ ।

केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौ रकम लगानी गरिसकेको छ । साथै वार्षिक करोडौंको रकम परिचालन भई रहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र भइरहेको उनीहरुको भनाई छ ।

पत्रमा लेखिएकाे छ , ‘कलेजो प्रत्यारोपण सम्बन्धी उपचारमा पनि अर्बौ रुपैया खर्च भइसक्दा  र सात वर्ष वितिसक्दा पनि शल्यक्रिया गर्नको लागि भारतबाट विज्ञ शल्य चिकित्सकहरुको टोली बोलाई मोटो रकम दिई गर्नुपर्ने बाध्यात्मक स्थितिको सृजना गरिएको छ । यस्ता बेथितिको यथाशक्य अन्त्य गराउनुहुन पनि ध्यानाकर्षण गराउन चाहन्छौ र कतिपय अपरेशन गर्न नपर्ने बिरामीहरुलाई पनि प्रत्यारोपण गर्न लगाउने आर्थिक चलखेलका लागि शल्यक्रिया गर्नपर्ने अवस्थाका जटिल बिरामीहरुलाई पनि यस केन्द्रमा शैल्यक्रिया नगरी भारतका महंगा अस्पतालहरुमा चर्को कमिसन असुल गर्नका लागि पठाउने गरिएको सुनिएको पनि यसैपत्र मार्फत ध्यानाकर्षण गराउन चाहन्छौं,।’

पत्रको अगाडि भनिएको छ, ‘केन्द्रमा भएका विज्ञ चिकित्सकहरुलाई काम गर्न नदिने महंगा मेसिन उपकरणहरु थन्क्याएर राख्ने अनि स्थायी चिकित्सकहरुलाई विभिन्न कपोकल्पित निराधार आरोप लगाई सेवाबाट हटाउने र जनताले पाउनुपर्ने विशिष्ट विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य उपचार पाउनुपर्ने हकबाट वचित गरी ज्यानै गुमाउनु परेको जस्तो संवेदनशील समस्याहरु भक्तपुर नागरिक सरोकार समाज गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’ पत्रमा भनिएको छ ।

यसअघि स्थानीयले बुधबार स्थानीयबासीले अस्पतालको गेट अगाडि आन्दोलन गरेका थिए । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका थिए ।