संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

1.46K
shares

नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।
संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ राष्ट्रि दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।
समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा विशेषाङ्क–स्मारिका प्रकाशन गर्नाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।