शान्ति बनिन् हिमालयन तीज चेसको ट्रफी विजेता
वि.सं.२०८१ भदौ २२ शनिवार ०४:२७
shares

हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले शुक्रबार आयोजना गरेकाे हिमालयन तीज चेस टोर्नी को उपाधि शान्ति धिमालले जितेकी छन् ।
स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्बाधिक ५ अंकसहित च्याम्पियन भएकी हुन् ।
दुई वर्षअघि चेन्नाईमा भएको ४४ औं ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौं चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन् ।
निहाना श्रेष्ठ ४ अंकसहित उपविजेता भइन् । समान ४ अंक भएपनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एकमात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।
एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्यपदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे ।













