प्रत्यारोपण केन्द्रमा भएको बेथितिविरुद्ध चौथो दिन प्रदर्शन जारी

1.3K
shares

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलन चौथो दिनपनि जारी राखेका छन् । स्थानीयले शनिबार विहान वाजागाजासहित अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलन अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

शनिबार विहानको प्रदर्शनमा स्थानीय संघ संस्था एवम गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरु पनि प्रदर्शनमा उत्रिए ।

बुधबारदेखि गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले विहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए । शुक्रबार भने उनीहरुले गेट अगाडि नै प्रदर्शन गरेका थिए । शनिबारको प्रदर्शनमा भने स्थानीयको उल्लेख्य सहभागिता थियो ।

नागरिक समाजका अगुवा राजेन्द्र पुरीका अनुसार आन्दोलनमा स्थानीयबासी, संघ संस्था एवम सरोकारवालाहरुको समर्थन बढ्दै गएको छ । ‘हाम्रो केही स्वार्थ छैन् । अस्पतालभित्रको बेथितिको अन्त्यहोस भन्ने मात्र हो । भएका उपकरण प्रयोगमा ल्याइयोस र किड्नी मात्र होइन मुटु, फोक्सो, कलेजो सबैको उपचार सुविधा प्रदान गरियोस,’ उनले भने ।

केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौ रकम लगानी गरिसकेको छ साथै वार्षिक करोडौंको रकम परिचालन भई रहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र भइरहेको आन्दोलनका अगुवा चन्द्रलाल सुवालले बताए ।

उनले अस्पतालमा किड्नीको मात्र प्रत्यारोपण भइरहेको तर मानव अंगका अन्य शिर्षकमा आइरहेको बजेटमा अनियमितता भइरहेको आशंका व्यक्त गरे ।

अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको आन्दोलनकारीको भनाइ छ ।

डा.श्रेष्ठको नियुक्ति र उपकरण खरिदमा ठूलो चलखेल भएको आन्दोलनकारीको भनाइ छ । उनीहरुले आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।