नेपाललाई भ्रष्टाचाररहित राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई प्रधानमन्त्रीको आग्रह
वि.सं.२०८१ भदौ २२ शनिवार ०६:५१
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई भ्रष्टाचाररहित राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
एक्काइशौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा सम्लग्न नहुन आग्रह गरेका हुन् ।
उनले भने, “तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस् ।’’
प्रधानमन्त्री ओलीले भने, “म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिइन्नँ । नेपाललाई हरेक हिषाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’’
राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए ।
उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए ।





