‘मुक्कुम्लुङ छोड’ आन्दोलनकाे घोषणा
वि.सं.२०८१ भदौ २२ शनिवार ११:४९
shares

पाथिभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने अडानसहित पुन आन्दोलनको तयारी गरिरहेको उनीहरूले बताए । विगत ६ वर्षदेखि आन्दोलन गरिरहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
साथै, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र छलफलबाट सहमति नभई मुक्कुम्लुङमा केवलकार निर्माण कार्य नगर्नेे भन्ने सम्झौता उल्लंघन भएकोमा आपत्ति समेत जनाए ।
सरकारी र व्यापारिक समूहबाट बलमिच्याइ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरेर केबलकार निर्माण सुरु गरिएकाेले लाइसेन्स खारेज नभएसम्म आन्दोलन गर्ने घोषणा गरेका छन् ।
जसको लागि मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने व्यापारी कम्पनीलाई केवलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुम्लुङ छोड्न सात दिने अल्टिमेटमसमेत दिइएको छ ।
संस्थाहरुले राज्य र स्थानीय नगरपालिका र गाउँपालिकाहरूले अन्यायको विरोध गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्नु दिनदहाडै मुन्धुमीस्थल समाप्त गर्ने प्रपञ्चको निरन्तरता भएको आरोप लगाएका छन् ।
साथै मिलेर बसेको समाजलाई जबरजस्त अन्यायलाई निरन्तरता दिएर भड्काउने, माड्ने षडयन्त्र तत्काल बन्द गर्न समेत चेतावनी दिएका छन् ।
आन्दोलनमा प्रसाद लिम्बु संयोजक रहेको मुस्कुम्लुङ संरक्षण संयुक्त सघर्ष समिति, खगेन्द्र फेम्बू, संयोजक रहेको पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, नन्द कन्दङवा, संयोजक, लिम्बु बरगत संस्था (याक्युड सयङ) सहजीकरण समूह, प्रेम एक्तेन, संयोजक रहेको प्रदेश नम्बर १ प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति, रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नम्बर १ प्रदेश पुनः मनोनयन अभियान समिति र सरस्वती सिंहक (सरु), प्रतिनिधि, मुस्कुम्लुङ तनहाप चुम्बी समूह क्रियाशील छन् ।












