रुपन्देहीमा डेंगु रोकथाम गर्न खोज र नष्ट गर अभियान सञ्चालन

1.08K
shares

रुपन्देहीमा डेंगु सङ्क्रमण बढेपछि खोज र नष्ट गर(सर्च एण्ड डिस्ट्रोय) अभियान सञ्चालन गरिएको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहले यस्ताे अभियान सञ्चालन गरिएको हो ।

गत बैशाखदेखि यही भदौ १६ गतेसम्म रुपन्देहीमा १ सय ९८ जनामा डेंगु सङ्क्रमण भेटिएको छ । सङ्क्रमण फैलँदै गएपछि स्थानीय तहमा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले जानकारी दिए ।

यस अभियानमा १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लबहरू, विद्यालयका प्रतिनिधि र सरोकारवालाहरू डेंगु रोकथाम तथा नियन्त्रणका लागि लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

डेंगु सङ्क्रमण भेटिएपछि सम्भावित ठाउँको पहिचान गरी सरसफाइ गर्न थालिएको छ । वर्षातका कारण पानी जमेका ठाउँ सफा गरिएको छ।

वर्षात भएपछि सफा पानी जमेका स्थानमा डेंगुको लार्भा हुर्किने र त्यसबाट सङ्क्रमण फैलिन सक्ने भएकाले त्यस्ता ठाउँलाई बढी निगरानी गरिएको सूचना अधिकारी शर्माकाे भनाई छ ।

सङ्क्रमण ह्वात्तै फैलिने सक्ने सम्भावना रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्देशन दिएको छ ।