इन्जिनियर र सबइन्जिनियरलाई ८ महिना कैद र जरिवाना

1.17K
shares

पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया, र बिचौलिया सुरज कुँवरलाई घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिएको आरोपमा दोषी ठहर गरिएको छ। विशेष अदालतले उनीहरूलाई ८ महिना कैद र जरिवाना फैसला सुनाएको छ।

 

गत चैत २८ गते, इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरिएको थियो। उनीहरू घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा घुस लिँदै थिए। त्यसपछि इन्जिनियर शिवप्रसादलाई पनि समातेर अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

 

पोखरा १० मा बनेको एक घरको निर्माण सम्पन्न भएको प्रमाणपत्र प्राप्त गर्न इन्जिनियर बरालको नेतृत्वमा रोकाया र सुरजले २ लाख रुपैयाँ घुस मागेका थिए। यसमा थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरजलाई पक्राउ गरिएको थियो। अख्तियारले यस प्रकरणमा २ इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा दायर भइसकेपछि बयान फेरेको आरोपमा केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि पनि मुद्दा दायर गरिएको थियो।

 

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले इन्जिनियर बराल र सबइन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको छ। घुस दिने बिचौलिया सुरजलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैदको सजाय सुनाइएको छ। अनुसन्धानका क्रममा २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ, जसलाई जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्न आदेश गरिएको छ।