प्रत्येक वर्ष भव्य बन्दै अमेरिकामा बानाको नेपाली सडक महोत्सव
वि.सं.२०८१ भदौ २४ सोमवार ०६:००
shares

अमेरिकामा स्थापना भएका विभिन्न नेपाली सङ्गठनहरू मध्येमा सबैभन्दा धेरै सक्रिय संस्था मध्येको एक बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सातौँ संस्करणको सडक महोत्सव गर्ने भएको छ ।
विगतका ६ संस्करणलाई भव्य रूपमा सम्पन्न गरेको बानाले यो पटकको महोत्सवलाई पनि अझ उत्कृष्ट ढङ्गले गर्ने लक्ष्य राखेको छ ।
सन् २०१५ देखि लगातार रूपमा अमेरिकाको बाल्टिमोरमा नेपाली कला, संस्कृति र नेपालको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो महोत्सवको आयोजना गर्दै आएको बानाले यो पटकको कार्यक्रमलाई अझ व्यवस्थित र धेरै भन्दा धेरै मानिसहरूको सहभागिता गराउने लक्ष्य राखेको छ ।
बाल्टिमोरको व्यस्त ठाउँमध्येको एक टाउसनको मुख्य ठाउँमा हुने यो महोत्सवका लागि तयारी निकै द्रुत तरिकाले भइरहेको बानाका अध्यक्ष सुबोध पन्तले बताए ।
सेप्टेम्बर १५ तारिख आइतबारका दिन हुने यो कार्यक्रम यो पटक एक दर्जन भन्दा बढी कार्यक्रमहरू राखिएको छ ।
विगतका बर्सहरूमा झैँ नेपाली संस्कृति झल्किने गतिविधिलाई निरन्तरता दिइनेछ । नेपाल भन्दा धेरै टाढा रहेर पनि नेपाली संस्कृतिलाई विदेशी भूमिमा सबैमाझ देखाउने र यसलाई सबैको नजरमा उत्कृष्ट कार्यक्रम बनाउने लक्ष्यका साथ सातौँ संस्करणको सडक महोत्सवको आयोजना गर्न लागिएको बानाका महासचिव सागर घिमिरेले जानकारी दिए ।
नेपाली दूतावास, बाल्टिमोर सिटी काउन्सिलको समेत सहयोग रहेको यो कार्यक्रमले विगतका बर्सहरूमा राम्रो चर्चा पाउँदै आएको छ ।
यो कार्यक्रम हेर्नका लागि विदेशीहरूको समेत निकै राम्रो उपस्थिति रहने गरेको छ । विगत ६ वर्षदेखि निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको बानाले हरेक संस्करणमा अझ व्यवस्थित गर्दै आएको छ ।













