हिमालयन गानादा फुटसल गोल्डकप विजेतालाई दुई लाख नगद
वि.सं.२०८१ भदौ २४ सोमवार ०६:२३
shares

‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ को उपाधि आयोजक टिम हिमालयन फुटबल क्लबले रक्षा गर्न सफल भएको छ । राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्न फाईनल खेलमा ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सूटआउटमा ३ २ गोल अन्तरले पराजित गर्दै हिमालयन एफसीले उपाधि रक्षा गरेको हो ।
निर्धारित २० मिनेटको समयमा १(१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा तेस्रो नम्बरमा गोल गर्न पुगेका ढुकुका खेलाडी चुक्दा हिमालयन एफसीले उपाधि चुम्यो । उपाधिसँगै गोल्डकप, विजयी मेडल र नगद २ लाख पुरस्कार आयोजकले नै राख्न सफल रह्यो ।
विजयी टिमलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले ट्रफी, मेडल र चेक भौचर प्रदान गरेका थिए । यस्तै रनरअप बनेको ढुकुलाई नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरू अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर र सविता राना मगरले संयुक्त रूपमा नगद १ लाख पुरस्कार र रनरअप मेडल प्रदान गरे ।
प्रतियोगितामा हिमालयन एफसीका दिपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । गोलपोस्टको जिम्मा सम्हालेका दिपेशले प्रि क्वाटरमा टिमको लागि दुई गोल गर्न सफल भएका थिए भए फाइनल खेलको पेनाल्टीमा पनि विजयी गोल उनले नै गरेका थिए । उनले नगद १० हजार आफ्नो पक्षमा पारे ।
यस्तै उत्कृष्ट खेलाडीको पुरस्कार ढुकुका अशोक मगरले हात पारे । उनले पनि समान १० हजार पाउँदा फेयरप्ले टिमको उपाधि मत्से फुटसलले जित्यो । बागमती फुटबल संघका उपाध्यक्ष राजिव मानसिंह बस्नेतले फेयरप्ले टिमलाई नगद २० हजार र ट्रफी प्रदान गरे ।













