सार्कको अध्यक्षता पाकिस्तानलाई सुम्पिन हामी आतुर छाैं : राष्ट्रियसभा अध्यक्ष

1.05K
shares

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीले शिष्टाचार भेट गरेका छन् ।

राजदूत हाश्मीले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा अध्यक्ष दाहालले नेपाल–पाकिस्तान कूटनीतिक सम्बन्ध ६ दशक पूरा भएपनि जनस्तरको सम्बन्ध वर्षौं पुरानो रहेको बताए । विभिन्न क्षेत्रीय र बहुपक्षीय फोरमहरुमा नेपाल पाकिस्तान मिलेर काम गरिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्षको हैसियतले नेपालले पाकिस्तानलाई अध्यक्षता सुम्पिन आतुर रहेको बताए ।

‘सार्कको अध्यक्षता नेपालले गरिरहेको सन्दर्भमा यसको सक्रियताका लागि हामी निकै गम्भीर छौं’, उनले भने, ‘सार्कलाई क्रियाशील बनाउन पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म आशावादी छु। हामी पाकिस्तानलाई अध्यक्षता सुम्पन आतुर छौं।’

दुई देशबीच संयुक्त आर्थिक आयोग, द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र लगायतका विभिन्न फोरमहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले तिनको क्रियाशीलताले मात्रै दुई देश बीचको आपसी सहयोग र सहकार्य थप मजबुत र विस्तार हुने बताए ।