चीनका केही शहरमा विदेशी अस्पताल खोल्न दिने तयारी
वि.सं.२०८१ भदौ २५ मंगलवार ०५:१३
shares

चीनले बेइजिङ, तियानजिन, शाङ्हाई, नानजिङ, सुझाउ, फुझाउ, ग्वाङ्झाउ, सेन्जेन र हैनान टापुमा विदेशी लगानीका अस्पताल खोल्न अनुमति दिने तयारी गरेको छ ।
यो कदमपछि भारतीय कर्पोरेट स्वास्थ्य क्षेत्र भने उत्साहित देखिएको छ । भारतका धेरै कर्पोरेट हाउसहरूले चीनमा लगानी गर्न चासो देखाएका छन् ।
चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य आयोग र नेशनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेशनले संयुक्त दस्तावेजमा अस्पताल स्थापना गर्नका लागि आवश्यक शर्त, प्रक्रिया र आवश्यकता पछि घोषणा गरिने बताएका छन् ।
बेइजिङ, शाङ्हाई र ग्वाङ्डोङ र मुक्त व्यापार बन्दरगाह हैनानमा विदेशी उद्यमहरूले मानव स्टेम सेल, जीन निदान र उपचारसँग सम्बन्धित प्रविधिहरू विकास र लागू गर्न अनुमति प्राप्त गर्न सक्नेछन् ।
उद्यमहरूले चीनको कानूनी र नियमहरूको पालना गर्नु पर्नेछ र मानव आनुवंशिक स्रोत व्यवस्थापन, औषधि क्लिनिकल परीक्षण, औषधि दर्ता, उत्पादन र नैतिक समीक्षा सम्बन्धी आवश्यकताहरू पूरा गर्नुपर्नेछ । व्यवस्थापन प्रक्रियाहरू पनि पालना गर्नुपर्नेछ ।
चीनले सन् २०१४ मा पनि यस्तै घोषणा गरेको थियो र केही भारतीय कर्पोरेट अस्पतालहरूले यसमा चासो देखाएका थिए ।













