राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा विरोध प्रदर्शन जारी

1.39K
shares

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले मंगलबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरे ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

मंगलबार विहानको प्रदर्शनमा स्थानीय संघ संस्था, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरु पनि प्रदर्शनमा उत्रिए ।

गत बुधबारदेखि गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । बुधवार यता उनीहरुले दिनहुँ प्रदर्शन गर्दै आइरहेका छन् । केही दिनमा स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको आन्दोलनका अगुवा नविन विष्टले जानकारी दिए ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभइरहेको, उपकरण थन्क्याएर राखिएको एवम कार्यकारी प्रमुख नियुक्तिमा चलखेल भएको विष्टको भनाइ छ ।

अस्पतालबाट प्राप्त हुने सुविधा रोकेर राखेको, अर्बौको उपकरण थन्क्याएर राखिएको र एकाधिकारपूर्ण तरिकाले चिकित्सकहरुलाई हटाइएको उनले जानकारी दिए ।