मालश्री ऋतु राग सुरु : प्रवर्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा

1.07K
shares

मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ ।

धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अमूर्त सम्पदाको सुक्ष्म विषयलाई उजागर गर्ने महानगरपालिकाको कार्यक्रमलाई मालश्री धुनको प्रस्तुतिले योगदान दिने बताइन ।

मालश्री धुन दशैँ लागेपछि मात्र बजाउने चलन जस्तो देखिएको छ । दाफा संगीतअन्तर्गत पर्ने यो धुन काया अष्टमीदेखि बजाउने परम्परा हो । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, छोडिँदै र चलनबाट बाटो विराउँदै गएका संस्कारलाई मौलिक अवस्थामा पुनःस्थापना प्रयासअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा जति तालको मालश्री धुन, च्व तालमा कालिका जग बोलको र हाइ रे ज्यापुनी तता बोलको मालश्री धुन, अस्तरा तालको खिं द्यःल्यायेगु, छुंमा, मालश्री ग्वारासहित विविध धुन तथा रागहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत धुनमा खिं, पोंगा, ता, झ्याली, वय्, पछिमा मादललगायत मौलिक बाद्यबादन प्रयोग गरिएको थियो ।

 मालश्री धुन कोजाग्रत पूर्णिमासम्म बजाइन्छ ।