अब प्रधानमन्त्रीलाई रातिसम्म सिंहदरबारमै भेटिने
वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:१०
shares

नेपालका प्रधानमन्त्रीहरुले सिंहदरबारको कार्यकक्षभन्दा बालुवाटारको निवासलाई गुलजार बनाउने गरेको भनी आलोचना खेप्दै आएका छन् । चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसमेत यसअघि अपवाद बन्न सकेका थिएनन् । यो नयाँ कार्यकालमा भने ओलीले पुरानो प्रवृत्तिमा बदलाव ल्याएका छन् ।
यसपल्ट चौथो प्रधानमन्त्रीकालमा सल्लाहकार र सचिवालयको टिम चुस्त बनाएर काम थालेका प्रधानमन्त्री ओलीले बालुवाटार निवासभन्दा बढ्ता समय सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिन थालेका हुन् ।
‘रुघाखोकी लाग्दाबाहेक उहाँ सधैं अफिसमै आएर काम गर्नुहुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘पहिले धेरैपल्ट अपरेशन र मिर्गौला प्रत्यारोपण गरेकाले रुघामा चाहिँ बच्नैपर्छ, नत्र ज्वरोस्वरोमा दबाई खाँदै काम गर्दै गरिरहनुभएको छ ।’
बिहीबार राति मन्त्रिपरिषद्को बैठक सकेर सिंहदरबारमा प्रधानमन्त्री ओलीले अरु दुईवटा बैठक भ्याए । उनी अफिसबाट निस्कँदा रातिको १० बजेको थियो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार काठमाडौं बाहिर हुँदा बाहेक ओली औसतमा दिनहुँ ८ घन्टा सिंहदरबारमा बिताइरहेका छन् ।













