नेपालले अभ्यास खेलमा क्यानडालाई ६६ रनले हरायो

923
shares

नेपालले क्यानडाको एचपी जागर्सलाई अभ्यास खेलमा ६६ रनको फराकिलो अन्तरले हराएको छ। नेपालले २४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो, र जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो।

जागर्सका लागि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका थिए। नदिम मजिरले २९ र अनुप चिमाले १९ रन जोडे।

नेपालका स्पिनर ललित नारायण राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए। करण केसी र कुशल मल्लले एक-एक विकेट हात पार्न सफल भए।

पहिला ब्याटिङ गर्दै नेपाल ४७।५ ओभरमा २४७ रनमा अल आउट भएको थियो। ओपनर कुशल भुर्तेलले ६० बलमा ६ चौकासहित ४१ रन बनाएका थिए। आसिफ शेखले १९, अर्जुन साउँदले ८, भीम सार्कीले २१, रोहितकुमार पौडेलले ३३, आरिफ शेखले १, र कुशल मल्लले ९ रन बनाएका थिए।