बागलुङको बुर्तिबाङमा घर भत्काउँदा एक जनाको मृत्यु, ११ जना घाइते

1.18K
shares

बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। मृतकको पहिचान ५५ वर्षीय बेगबहादुर विकको रुपमा भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनःनिर्माणका क्रममा एक्कासी घर भत्किँदा विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए। उपचारको क्रममा विकको निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौँ महानगरपालिका-१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन-४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय इन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन-१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका-१ की ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन्। घर भत्किँदा पुरिएका सबैको उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले बताए।