विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल
वि.सं.२०८१ भदौ ३० आइतवार ११:२६
shares

नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ ।
नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो ।
यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो । विश्वकप भने आगामी सन् २०२५ मा चीनकै डालियन सहरमा हुँदैछ ।
यसै विश्वकप छनौट चरणका लागि नेपालको विश्वविद्यालय फुटबल टोलीको आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आइतबार थापागाउँमा आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई बिदाई गरिएको हो ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद्का बागमती प्रदेशका सदस्य सचिव दीपक लामा र विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्र पौडेलले नेपाली टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै बिदाई गरे ।
सो अवसरमा राखेपका पूर्वकोषाध्यक्ष शैलेष कर्माचार्य, विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोरा, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको उपस्थिति रहेको थियो ।
टिम प्रशिक्षकमा अरबिन कोइराला, हेड अफ डेलिगेसन अशोक श्रेष्ठ र टिम म्यानेजर एकेन्द्र मल्ल पनि टोलीसँगै चीन जाँदैछन् । त्रिभुवन विश्वद्यालय (टियु)ले आयोजनामा भएको बिबिए कपमा च्याम्पियन र उपविजेता टिमका खेलाडीबाट नेपाली टोली घोषणा गरेको हो ।













