माओवादी हिंसा: व्यक्तिगत विचार वा पार्टीको दृष्टिकोण ?
वि.सं.२०८१ भदौ ३१ सोमवार ०८:२२
shares

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको अवरोध हटाउँदै आफ्नो पुरानो निर्णयलाई कायम राखेको छ।
सोमबार, उपमहासचिव शक्तिबहादुर बस्नेतले संसदमा आफ्नो पार्टीको मतलाई कायम राख्ने र अवरोध हटाउने बारे जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको विदेश भ्रमण र केही महत्वपूर्ण विधेयकहरूको पारितको कार्यसूचीलाई अघि बढाउन प्रतिनिधि सभा बैठकको अवरोध हटाइएको उल्लेख गरे।
तथापि, अवरोध हटाउँदा, सांसद बस्नेतले सत्तारुढ सांसदहरूको अभिव्यक्ति र नेपालको राजनीतिक आन्दोलनबारे लामो चर्चा गरेका छन्। उनले भने, “माननीयज्यूहरूले प्रयोग गर्नुभएको ‘हिंसा’ शब्दलाई हामीले जनताको त्याग र बलिदानको अपमान गर्ने शब्दका रूपमा लिएका छौं। यसलाई केवल शब्दको रूपमा होइन, नेपाली क्रान्तिको सम्पूर्ण प्रक्रियालाई तोडमोड गर्ने प्रयासको रूपमा लिएका छौं।”
१२ भदौमा, एमाले सचिव योगेश भट्टराईले प्रतिनिधि सभा संबोधनको क्रममा ‘माओवादी हिंसा’ शब्दको प्रयोग गरेका थिए। यस बारेमा सांसद बस्नेतले सोधेका छन्, “यो भनाइ माननीय ज्यूहरूको व्यक्तिगत विचार हो, दलको विचार हो, वा सरकारको बुझाइ हो? हाम्रो दलले यसमा स्पष्टता माग गर्दै सच्याउन पनि अनुरोध गरेको छ।”













