प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठलाई बर्खास्तको माग
वि.सं.२०८१ असोज ५ शनिवार ०५:२४
shares

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठलाई बर्खास्तको माग
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध आन्दोलनरत स्थानीयबासीले कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा एक पत्र बुझाउँदै अनियमितता, भ्रष्टाचार र मानव अंग तस्करीमा संलग्न भएको भन्दै डा.श्रेष्ठलाई कारवाही स्वरुप बर्खास्तको माग गरिएको हो ।
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिका तर्फबाट विष्णुकुमार पौडयाल, चन्द्रलाल सुवाललगायतले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बर्खास्तको पत्र बुझाएका हुन् । उनीहरुले अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग पनि गरेका छन् ।
विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि सुनुवाइ नभएपछि आन्दोलनकै कार्यक्रम स्वरुप पत्र बुझाइएको सुवालको भनाइ छ ।
विगत १५ दिनदेखि अस्पतालको गेट अगाडि विरोध प्रदर्शन गर्दै आइरहेका उनीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतका माग राख्दै आएका थिए ।













