विकास र पर्यावरणीय दिगोपनको सन्तुलन मिलाउन चुनौतीको सामना गर्नुपरेको छ : अर्थमन्त्री

1.29K
shares

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

शनिबार त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपालको सबैभन्दा जेठो र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको सबैभन्दा जेठो र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसका लागि म विश्वविद्यालय र विभागको भूमिकाप्रति सह्राना गर्न चाहन्छु ।’

यस्तै, उनले आजको दिनमा संसारले विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गरिरहेको बताए । उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण, र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन जस्ता समस्याहरूले अर्थतन्त्रमा पनि गम्भीर समस्या ल्याएको बताए ।

उनले  भने, ‘आजको दिनमा संसारले विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण, र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन जस्ता समस्याहरू केवल पर्यावरणीय चुनौतीहरू मात्र होइनन्; यी समस्याहरू हाम्रो अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय हुन् ।