एमाले नेता शेरबहादुरले भने -धरहरा सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्छ

'एमालेले बालेनसँग शब्दयुद्ध गर्न जरुरी छैन'

1.01K
shares

नेकपा एमालेका प्रभावशाली नेता शेरबहादुर तामाङले धरहराको सम्पूर्ण सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्ने बताएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले  काठमाडौंका मेयर बालेन्द्र शाह र एमालेको सिँगो पँक्तिबीच अहिले भैरहेको जुहारी आफूलाई ठिक नलागेको बताए । उनले बरु काममा प्रतिष्पर्धा गर्न सुझाव दिए ।

उनले भने,‘काम गरौं । एमालेले पनि काम गर्नुपर्छ । बालेनले पनि काम गर्नुपर्छ । शब्दयुद्ध गर्न जरुरी छैन् । एमालेका साथीहरुले शब्दयुद्ध चलाउन जरुरी छैन् । काम गरेर जित्नुहोस । धरहराको सम्पूर्ण व्यवस्थापन महानगरलाई हस्तान्तरण गरौं । राजधानी सबै नेपाली जनताको हो ।   बरु काममै भिडौं । धरहराको सिंगो सञ्चालनको काम महानगरलाई जिम्मा लगाऔं ।’

उनले सहकारी छानबिन समितिले प्रतिवेदन ल्याईसक्दापनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै पनि आलोचना गरे ।

उनले भने,‘सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ । गलत कुरालाई पनि सही हो भन्ने पात्र यो मुलुकमा छन् । त्यस्ता पात्रले भ्रम दिन सक्छन् । तर, सत्य त सत्य हो ।’