नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले सहकारी ठगी छानविन गर्ने क्रममा सरकारले समितिलाई सहयोग नगरेको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले बेलायत, मलेसियामा भएका सहकारी ठगलाई ल्याउन नसकेपनि भारतमा लुकेका सहकारी ठगलाई ल्याइदिनुस् भन्दै समितिले अनुरोध गर्दा सरकारले बेवास्ता गरेको बताएका हुन् ।
दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै कांग्रेस/एमालेका नेताहरु रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे । ‘आफ्नै कार्यकर्तालाई हत्कडी लगाउन गठबन्धन सरकार तयार हुन्छ कि हुँदैन ? केपी ओली तयार हुनुहुन्छ कि हुनुहुँदैन ? शंका छ,’– उनले भने ।
सरकारलाई समितिले घर नम्बर र लोकेनसमेत दिँदा पनि सहकारी ठगहरु पक्रेर ल्याउन सरकराले सहयोग नगरेको उनको गुनासो छ ।