मुआब्जा नपाएको भन्दै १०५ दिनदेखि अनसनमा अनवर अन्सारी

1.18K
shares

बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको लामो समय बित्दा पनि अधिग्रहण भएको जग्गाको मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयले आन्दोलन जारी राखेका छन् ।

तामागढी सिम्रौनगढ सहयोेग तथा मुआब्जा संर्घष समितिका अध्यक्ष अनवर अन्सारीलगायका व्यक्तिहरु आन्दोलनरत भएका हुन् ।  अध्यक्ष अन्सारीले काठमाडौंको माइतीघर मण्डलामा आइतबार पनि आफ्नो आमरण अनसन जारी राखेका छन् ।

उनले मुआब्जा प्राप्तिकाे  माग राख्दै अनसन सुरु गरेको १०५ दिन भइसकेको बताए । करिब ६५ देखि ७० बिघा जग्गाबराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँबराबरको मुआब्जा स्थानीयले पाएका छैनन्।

उनले भने, ‘हाम्रो जग्गा अधिकरण गरिएको छ । त्यो बापत सरकारले हामीलाई क्षतिपूर्ती अझै सम्मपनि दिएको छैन् । सुरुमा आश्वासन दिइयो, पैसा तपाइँहरुले नियमले पाउने हो भन्यो । तर आजसम्म झुक्याएर सरकारले राखेको छ । एक सुक्का पनि अहिलेसम्म दिएको छैन् । भारत सरकारको अनुदानमा बनेको बाटो हो । नेपालमा १० वटा बाटो बन्यो, त्यसमा ९ वटालाई मुआब्जा दिइसक्यो तर हाम्रो तामागढको अहिलेसम्म पाएको छैन् । झुटो आश्वासन हामीले पाएको छौं । त्यसैले अनसन बसेको हौं ।’

३९.७५ किलोमिटर लम्बाइको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने महत्वपूर्ण सडक हो ।