विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

2.03K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे ।

नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै संख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरूबिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरे ।

उनले भने, ‘नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन । बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हाँसिल गर्न सक्नेछौँ । हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ । भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ । त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।’