काठमाडौं उपत्यका ठप्प बनाएर सरकारलाई घुँडा टेकाउने राप्रपाको चेतावनी

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले देशभरीकै जनता आन्दोलनको मुडमा भएकाे बताएका छन्।

    आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा बाेल्दै उनले एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गरेका हुन् ।

    उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ।’

    उनले समान विचारधारा भएकाहरूलाई समेट्ने प्रयास गर्दा पनि असफल भएको बताए। उनले मंसिरबाट आफूहरू आन्दोलनको सुरुआत गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे।

    यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले  आन्दोलनबाट वारपार गर्न नसके आफूहरूले बोकेको एजेन्डा स्थापित नहुने बताए।

    उनले भने, ‘हामीलाई कसैले किस्तीमा ल्याएर दिनेवाला छैन। त्यसैले हामीले आन्दोलनबाट व्यापक दबाब दिनुपर्छ। सडकमै उत्रिएर दबाब दिनुपर्छ। अर्कोतिर वैचारिक रूपमा पनि वकालत गर्नुपर्छ।’

    उनले कांग्रेस, एमाले र माओवादीमा पनि संवैधानिक राजसंस्थाको पक्षमा भएकाे भन्दै  संवाद जारी राख्नुपर्ने पनि  बताए।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation