दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

1.07K
shares

मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ ।

अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको हाे ।

बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ । निर्णय भएपछि यसै सातादेखि अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने जनाइएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले आइतबार मन्त्रालयमा टिकट बुकिङका सम्बन्धमा छलफल भए पनि निष्कर्षमा नपुगेका कारण यातायात व्यवस्था विभागसँगको आगामी बैठकले गर्ने निर्णयअनुसार बुकिङ सुरु हुने बताए ।

दसैं आउन धेरै दिन बाँकी नभएकाले केही दिनमा नै टिकट बुकिङ सुरु हुने उनको भनाई छ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

प्रत्येक वर्ष दसैँमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको बताएका खनालले यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए ।

‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउनेछैन ।’

बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बससेवाले जनाएको छ ।

बससेवाको वेबसाइट र मोबाइल एपबाट अग्रिम टिकट बुकिङ गर्नुका साथै बससेवाको आधिकारिक फेसबुक पेजबाट नियमित अपडेट पाउन सकिन्छ ।