एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुनाउँछौ : प्रचण्ड

1.27K
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी मोर्चालाई,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन् ।

उनले भने, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा छौं । मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ । एकताको र मोर्चाको अभियानमा लागिरहेका छौं । सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति,योजना र कार्यक्रम गर्नेछ ।

उनले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने पनि बताए ।

‘थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं । भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ,’ उनले भने ।

उनले आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए ।