अवरुद्ध सडकहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने

845
shares

शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।

देशको राजधानी जोडने मुख्य राजमार्ग नागढुङ्गा–नौविसें–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात संचालनमा आएको मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको वर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाइ यातायात सुचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले  जानकारी दिए ।

अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुनेगरी कार्य भइरहेको छ । तर बीपी राजमार्गको विकल्पको रुपमा मुलकोट बाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।

चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठूलो जनशक्ति परिचालन गरेको जनाएको छ । अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये ४७ स्थानमा राजमार्गहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने देखिएको छ ।