बाढीका कारण अलपत्र परेका २९४ जनाको सकुशल उद्दार

949
shares

बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको छ ।
आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्दारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।

‘गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्दार गर्न सकिएन । मौसममा सुधार आएसंगै सेनाको हेलिकप्टर उद्दारमा निरन्तर खटिएको छ ’ उनले भने ।

उनले सोमबार (हालसम्म) सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्दार गरि सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । उद्दार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरुलाई गृह मन्त्रालयले तत्कालको राहत सामाग्री पनि उपलब्ध गराइरहेको उनले बताए ।

त्यसैगरी प्रभावित क्षेत्रमा खोजी तथा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको प्रवक्ता तिवारीले बताए ।

आइतबार काभे्रपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

यता पहिरोका कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको झ्याप्ले अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।

अलपत्र परेकाहरुको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रवक्ता तिवारीका अनुसार हालसम्म सुरक्षाकर्मीहरुले चार हजार जनाको सकुशल उद्दार गरिसकेको छ ।