गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : पर्यटन मन्त्री पाण्डे
वि.सं.२०८१ मंसिर ८ शनिवार १४:२२
shares

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीद्वारा शनिवार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशङ्का गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए ।
उनले नेपालकै मध्य भागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतम बुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने पनि बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने समेत प्रतिबद्धता जनाए ।
उनले भने, ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको छ । मेचीमहाकालीको बिचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ ।’
उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताए । मन्त्री पाण्डेले अब काठमाडौँ फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसी कार्यान्वयन गरिने उद्घोष पनि गरे ।
उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रूपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गरेर गर्ने समेत बताए ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले द्रुतगतीमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने उद्घोष गरे ।
उनले होटेल, गुम्बा र स्थानीयहरूका बिचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउँदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।












