औषधीको बिक्रीमा बेथिति नियन्त्रणमा कडाइ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वि.सं.२०८१ मंसिर १६ आइतवार १६:३७
shares

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भनेका थिए ।
लगत्तै परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय गरेको हो ।परिषद्ले आगामी पुस ४ गतेबाट लागू हुने गरी गत मङ्सिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोसाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो ।
कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरण मा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुस ४ गतेबाट लागू हुँदै छ ।
यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेले बताए ।
मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभाग लाईसमेत अनुगमन बढाउन सजग गराएका छन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएकोसमेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उनले बताए ।
मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।













