खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्छ : सभामुख घिमिरे
वि.सं.२०८१ मंसिर २९ शनिवार १५:३६
shares

काठमाडौं । सभामुख देवराज घिमिरेले खेल खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरू सम्म बनाउने दिशामा लाग्ने काम सुरु भएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित नेपाल विद्यालय खेलकुद महासंघको महासभालाई सम्बोधन गर्दै उनले खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने भन्दै सरकार त्यो दिशामा लागेको बताएका हुन् ।
उनले भने, ‘खेल क्षेत्रबाट राष्ट्रलाई चिनाउनको लागि, प्रतिभालाई अगाडि लानको लागि र खेलबाट पनि जीविकोपार्जनको महत्त्वपूर्ण आधार तय गर्न सकिन्छ, खेल जीवनको लागि महत्त्वपूर्ण हुन्छ र खेललाई राज्यले त्यही प्राथमिकताका साथ लिनु पर्छ । शिक्षामा राख्नुपर्छ, खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरू सम्म बनाउनु पर्छ । यस दिशामा लाग्ने काम सुरु भएको छ ।’
यसको साथै, उनले खेलले जीविकाको आधार बनाउन सक्छ भन्ने विश्वास जगाउनुपर्ने अवस्था रहेको भन्दै यो कुराहरूलाई संस्थागत रूपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्त्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘खेलकुदमा लागेर छोराछोरीहरू बिग्रिन्छन् भन्ने अभिभावकहरूको चिन्ताबाट बच्चाहरू खेलिदिए हुन्थ्यो भन्ने अवस्थामा लानुपर्ने एउटा परिस्थिति छ । यस्तो अवस्था ल्याउनको लागि यो संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने छ । अहिले खेलकुद सबैले सिक्नुपर्ने अनिवार्य विषय रहेछ, यसबाट नाम राख्नुको साथै जीविकाको आधार बनाउन सक्ने रहेछ भन्ने कुराको ज्ञान भर्खर हामी पाउँदैछौं । हामीले यो कुराहरूलाई संस्थागत रूपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्त्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्छ ।’













