दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

1.09K
shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यवाहक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका हुन् ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन एवं युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवाले बताए ।

‘दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच सम्झौता भएको हो । यसको मुख्य उद्देश्य भनेको गरिबी निवारण हो । गरिबी निवारणका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने हुन्छ । आर्थिक गतिविधि विस्तार गर्नका लागि निजी क्षेत्रको क्षमता बढाउनु पर्ने हुन्छ।’ उनले भने, ‘अर्को उद्देश्य जलवायु परिवर्तनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने हो । यसको लागि ग्रिन इकोनोमीमा पनि हामी छलफल गरेर अगाडी बढ्छौँ ।’

अध्यक्ष अग्रवालले यो सहकार्यले नेपालको अर्थतन्त्रलाई सेफ ल्यान्डिङ दिने पनि दाबी गरेका छन् । उनले भने, ‘नेपाल च्याम्बर अफ कमर्सको सबै जिल्लामा संस्थाहरू भएकाले नै यूएन्डीपीले आम्रीसँग सहकार्य गरेको हो । र याृ सहकार्यले नेपालको अर्थतन्त्रलाई सेफ ल्याडिङतिर लैजान्छ भन्ने विश्वास लिएको छ ।’

चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यान्वयन आउने छ । युएनडीपीका कार्यवाहक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरू पुरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्त्वपूर्ण भएको छ । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने छ ।’