मुगुमा अर्को निकुञ्ज वा सिकार आरक्षण बनाउने तयारी

1.22K
shares

मुगु । वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुञ्ज वा सिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ ।

सोमबार नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लाको मुगुम कार्मारोङ्ग गाउँ पालिकामा पर्ने १२ बस्ती भित्रका केही भू–भाग समेटेर निकुञ्ज वा सिकार आरक्षण कुन उपयुक्त हुन्छ सोही हिसाबले काम अघि बढाउनका लागि अध्ययन गर्ने कार्यदल बनाएका हुन् ।

जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाले गाउँ सभाबाट निर्णय गर्दै से फोक्सुन्डो राष्ट्रिय निकुञ्जले गाउँपालिका भित्र ओगटेको भूभागसहित अन्य भूभाग समेटेर सिकार आरक्ष वा संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज बनाउन निर्णयसहितको कागजात मन्त्रालयमा पेस गरेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र रावलले बताए ।

कार्यदलले अध्ययन गरेर के उपयुक्त ठान्छ सोही अनुसार मन्त्रालय प्रक्रिया अघि बढ्ने वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले बताए । से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज इ.स १९८४मा स्थापना भएको निकुञ्ज हो । यसको कुल क्षेत्रफल ३ हजार ५ सय ५५ वर्ग मिटर रहेको छ । निकुञ्जले पालिको ८२९ वर्ग किमी क्षेत्र ओगटेको छ ।

मुगुम कार्मारोङ्ग क्षेत्र वन्यजन्तुहरूको प्रमुख वासस्थान र आहार क्षेत्र मानिन्छ । यहाँ विभिन्न जातिका वन्यजन्तुहरू पाइन्छन् । बथानका बथान वन्यजन्तु, चराचुरुङ्गी, हिमाल, ताल तलैया, मुगु नदी, विभिन्न कोणमा सजिएका हिमाल देखिने भएकाले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि यो क्षेत्रलाई खुल्ला बन्यजन्तुहरु सहजै रूपमा देख्ने गरेको पाइन्छ । नेपालकै सानो रारा राष्ट्रिय निकुञ्ज पनि मुगु मै छ ।

मुगुम कार्मारोङ्ग गाउँपालिकाको केही भाग समेटेर राष्ट्रिय निकुञ्ज वा सिकार आरक्षण बने जिल्लामा दुई वटा संरक्षित क्षेत्र हुने छन् । नयाँ बन्ने निकुञ्ज वा सिकार आरक्षण क्षेत्रभित्र तामा खानी र डोल्फु कर्णाली नदी पर्नेछ ।

उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, चौँरी गाई, हिम चितुवा, नाउर, थार, रतुवा डाँफे, मुनाल, कालिजलगायतका विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी पाइन्छ । त्यस्तै विश्वका चार धाममध्ये एक धाम छाँयानाथ धाम यही क्षेत्रमा रहेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।