सुधारिएको पूर्वाधारले ग्रामीण चीनमा इ-कमर्सको वृद्धि
वि.सं.२०८१ पुस ९ मंगलवार १३:४९
shares

एजेन्सी । साना गाउँ र टोलहरूमा सुधारिएको पूर्वाधारका कारण ग्रामीण चीनमा इ-कमर्स तीव्र रूपमा फस्टाउँदै गएको छ । अहिले ग्रामीण बासिन्दाले अनलाइन सपिङलाई आफ्नो दैनिकीको हिस्सा बनाउन थालेका छन् ।
सिचुआन प्रान्तको हुआलिन गाउँका बासिन्दा लिउ झुआङकुइ इ-कमर्सले ग्रामीण जीवनमा सहजता ल्याएको बताउँछन् । उनी भन्छन्, “आजकाल इ-कमर्स लजिस्टिक्स यति सहज छ कि ग्रामीण र सहरी क्षेत्रमा बस्न एउटैजस्तो लाग्छ । हामी मोबाइल फोनमा एउटा क्लिकले सामान किन्न सक्छौँ र यसलाई चाँडै हाम्रो घरमै डेलीभर गरिन्छ ।’
विशाल ग्रामीण क्षेत्रमा सामान समयमै डेलीभर गर्न हुआलिन गाउँले सार्वजनिक मिनिबसहरू प्रयोग गर्ने अनौठो पहल सुरु गरेको छ । हुआलिन गाउँको इ-कमर्स डेलिभरी स्टेसनका प्रमुख लिउ वेनमिङ भन्छन्, ‘मिनिबसले सामान डेलीभर गर्दा गाउँलेहरूले समयमै सामान प्राप्त गर्न र आफ्नो कृषिजन्य उत्पादन चाँडै बेच्न सक्छन् । यसले गाउँलेहरूलाई सुविधा मात्रै होइन, श्रम र यातायात लागत पनि कम गरेको छ ।’
चीनमा इ-कमर्सलाई आत्मसात् गर्दै, धेरै किसानहरू आफ्नो बालीको सिजनबाहेकको समयमा लाइभ–स्ट्रीमिङमार्फत अतिरिक्त आम्दानी गरिरहेका छन् । यसले परम्परागत कृषि र आधुनिक प्रविधिलाई एकसाथ ल्याएको छ ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष ग्रामीण क्षेत्रमा अनलाइन खुद्रा बिक्री ३४३ अर्ब अमेरिकी डलर नाघेको थियो, जसमा कृषिजन्य उत्पादनहरूको बिक्री ८० अर्ब डलरभन्दा बढी रहेको छ ।












