संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री
वि.सं.२०८१ पुस ९ मंगलवार १५:०७
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
मङ्गलवार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग सहमति जुटाएर संविधान संशोधनको प्रक्रिया सुरु गर्ने बताए ।
उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौँ । संविधानको समीक्षा गर्छौँ । विषयहरूको पहिचान गर्छौँ । चरणबद्ध रूपमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । यसमा समय लाग्छ । तर त्यो प्रक्रिया अगाडि बढ्छ । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन थप सुदृढ बनाउने हो । म यो प्रतिबद्धता जनाउँछु ।’
उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिबद्ध रहेको पनि उनले बताए ।
उनले भने,‘संघीय लोकतन्त्रात्मक शासन प्रणाली व्यवस्थामा छौँ । संविधानको मूल मर्म भएको हुनाले के आग्रह गर्न चाहन्छु भने नेपाल सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिबद्ध छ । हामी हमेसा प्रतिबद्ध रहने छौँ ।’










