विराटनगरमा उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा, घण्टौँ क्षेत्र सिल

104
shares

विराटनगर, साउन ३ — मोरङ प्रहरीले नेपाल उद्योग परिसंघ (सीएनआई) का केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा छापा मारेको छ। सोमबार बिहान प्राप्त विशेष सूचनाको आधारमा प्रहरी टोलीले घरमा खानतलासी गरेको हो।

मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटुवालको नेतृत्वमा पुगेको प्रहरी टोलीले मुन्दडाको घरमा व्यापक खोजतलास गरेको थियो। छापामारीका क्रममा जिल्ला प्रशासन कार्यालय क्षेत्रदेखि गोल्छा मोडसम्मको सडक सुरक्षा घेरामा राखिएको थियो भने सर्वसाधारणको आवतजावतसमेत केही समयका लागि रोकिएको थियो।

प्रहरी स्रोतका अनुसार मुन्दडाको घरमा अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गरिएको थियो। यद्यपि लामो समयसम्म गरिएको खोजीका क्रममा कुनै पनि अवैध सामग्री वा शंकास्पद वस्तु फेला नपरेपछि प्रहरी टोली फर्किएको जनाएको छ।

एसपी कवित कटुवालले खानतलासीका क्रममा कुनै गैरकानुनी सामग्री बरामद नभएको पुष्टि गर्दै प्राप्त सूचनाको आधारमा नियमित अनुसन्धान प्रक्रिया अपनाइएको बताए।

मुन्दडा परिवारद्वारा सञ्चालित देवनरा ग्रुपले प्रदेशका विभिन्न क्षेत्रमा दर्जनौँ उद्योग तथा व्यापारिक प्रतिष्ठान सञ्चालन गर्दै आएको छ। विशेषगरी चाँदीको खरिद–बिक्री तथा अन्य व्यापारिक क्षेत्रमा समूहको उल्लेखनीय लगानी रहेको बताइन्छ। प्रहरीको छापामारी चाँदी कारोबारसँग सम्बन्धित सूचनाको आधारमा भएको हुन सक्ने अनुमान गरिएको भए पनि यसबारे आधिकारिक पुष्टि भएको छैन।

विगतमा उक्त समूहमाथि अवैध हुन्डी कारोबार गरेको आरोप लाग्दै आए पनि हालसम्म त्यस्तो गतिविधि पुष्टि भएको छैन।

उता, नेपाल उद्योग परिसंघ (कोशी) का अध्यक्ष पवनकुमार सारडाले छापामारीको कारणबारे सुरक्षा निकायबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन्। उनले घटनाको वास्तविक कारण स्पष्ट हुन बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

यस घटनाले विराटनगरको उद्योग तथा व्यवसायिक क्षेत्रमा व्यापक चासो र चर्चा उत्पन्न गरेको छ भने प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।