रौतहटमा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बालिका अझै बेपत्ता

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका थिए

299
shares

२७ साउन, रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका भने अझै बेपत्ता छन्।

बेपत्ता भएकामध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएकी अर्की बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।