प्रदेश सरकारको गठबन्धनबारे गगन थापाको केन्द्रीय समितिमा ब्रिफिङ
वि.सं.२०८३ साउन २४ आइतवार १५:०९
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठन र गठबन्धनका सन्दर्भमा पार्टीले लिएको अडानबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा ब्रिफिङ गर्दै सभापति थापाले प्रदेश सभाहरूलाई प्रतिपक्षी विहीन बनाउने कतिपय दलहरूको प्रयासलाई कांग्रेसले रोकेको दाबी गरे ।
बैठकमा बोल्दै थापाले प्रदेशमा सबै दल मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन सभा बनाउने विषयमा नेपाली कांग्रेसको नेपाली कमयुनिस्ट पार्टी र नेकपा (एमाले) सँग कुरा नमिलेको स्पष्ट पारे । ‘हामीले स्पष्टसँग भन्यौँ- नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी विहीन प्रदेश सभा बनाउन चाहँदैन,’ थापाले भने, ‘लोकतन्त्रमा बलियो प्रतिपक्ष अनिवार्य हुन्छ, त्यसैले सबै शक्ति सरकारमा ओइरिने कुरामा हामी सहमत हुन सकेनौँ।’
महामन्त्री थापाले कांग्रेसले लिएको यो सैद्धान्तिक अडानपछि मात्र अन्य दलहरूबिच नयाँ ढङ्गले सहमति बनेको बैठकलाई जानकारी दिए । उनका अनुसार कांग्रेसले सत्ताको भागबन्डाभन्दा पनि संसदीय प्रणालीको मर्यादा र प्रतिपक्षको भूमिकालाई प्राथमिकता दिएको हो।
‘प्रदेश सभाको अंकगणित र गठबन्धनबारे छलफल हुँदा हामीले प्रतिपक्षको भूमिकालाई कमजोर बनाउनु हुँदैन भन्ने अडान राख्यौँ,’ थापाले भने, ‘हाम्रो यो अडानपछि नै अन्य दलहरूबिच फरक खालको सहमति बनेको हो।’
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा थापाले प्रदेशका पछिल्ला राजनीतिक घटनाक्रम, शक्ति सन्तुलन र कांग्रेसको भूमिकाबारे विस्तृत ब्रिफिङ गरिरहेका छन् । बैठकमा पार्टीको आगामी रणनीति र प्रदेश सरकारहरूमा कांग्रेसको उपस्थितिका विषयमा पनि छलफल भइरहेको छ।












