पोखरामा सुरु भयो बेलुन महोत्सव, २२ पाइलटले उडाए १५ वटा बेलुन
वि.सं.२०८१ पुस ९ मंगलवार १६:५३
shares

पोखरा । पर्यटकीय नगरी पोखरामा आज(मङ्गलवार)बाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।
बेलुन नेपाल प्रालिले पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ आयोजना गरेको महोत्सव नौं दिनसम्म चल्नेछ । महोत्सवको पहिलो संस्करणमा झन्डै दुई दर्जन बेलुन पोखराको आकाशमा उडाइने छ ।
बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार महोत्सवमा उद्घाटनमा १७ देशका २२ जना पाइलटहरूले १५ वटा बेलुनहरू उडाइएका छन् ।
उनले भने, ‘बेलुन महोत्सव नेपालमा पहिलो पटक आयोजना भएको हो । १७ देशका २२ जना पाइलटहरूले १५ वटा बेलुनहरू उडाइएका छन्,’ उनले भने, ‘महोत्सव आयोजना गर्नुको उद्देश्य भनेको नेपालमा पनि उत्कृष्ट हट एयर बेलुन छ है भन्नु पनि हो । किनभने, कुनै पनि देशमा तालतलैया, हिमाल पहाडलगायतको दृश्य हेर्दै बेलुन सयर गर्न पाइने नेपालमा मात्रै हो । पर्यटनका लागि यो नै आकर्षण हो ।’
महोत्सव बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म हेर्न मिल्ने ढकालले जानकारी दिए । उनी भन्छन्,‘बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म व्यवसायीक बेलुन फ्लाइटहरू सञ्चालन हुन्छन् । दिउँसो २ बजेपछि म्युजिकल कन्र्सटहरु हुन्छन् । फूड स्टलहरु छन् । त्यसैगरी साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म बेलुन ग्लो हुन्छ ।’
बेलुन महोत्सवमा व्यवसायीक बेलुन फ्लाईटका लागि नेपालीका लागि प्रति टिकट एघार हजार रुपैयाँ तोकिएको छ भने सार्क मुलुकका लागि एक सय २० डलर र विदेशी मुलुकका लागि दुई सय डलर रुपैयाँ टिकटको मूल्य तोकिएको छ ।












