स्थानीय सरकारको सहयोगमा निर्माण गरियो आँखा अस्पताल भवन

1.09K
shares

मुगु । मुगु सदरमुकाम गमगढी बजार भित्र रहेको छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको आँखा अस्पतालको भवन नेत्र ज्योति संघलाई हस्तान्तरण गरिएको छ ।

गमगढी बजारको रेडक्रस मार्गमा भवन निर्माण गरी हस्तान्तरण गरिएको हो । नगरपालिकाको ५६ लाख ३३ हजार ७ सय ८८ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

नवनिर्मित दुई तला भवन २०८१ वैशाख १२ मा अविनाश निर्माण सेवासँग सम्झौता गरी निर्माण सम्पन्न भएपश्चात् नगर प्रमुख विष्णु कुमार भामले नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ललाई हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख भामले स्थानीय सरकारको दायित्व अनुसार स्वास्थ्य शिक्षा, सञ्चारलगायत विभिन्न पूर्वाधार क्षेत्रमा समेत समेटिने गरी पालिकाबाट आर्थिक विकासमा सहयोग गर्दै आएको र आउँदा दिनमा थप आवश्यक अनुसार सहयोग गर्ने समेत बताए ।