हिमाली र पहाडी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना

1.85K
shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणयता बदली रही केही स्थानमा हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणयता बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोसी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा हिमपात र वर्षा तथा तराईका केही स्थानमा वर्षा हुनेछ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।