एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् : ओली
वि.सं.२०८१ पुस १४ आइतवार १७:५६
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताएका छन् ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।
‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरूको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नु छ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरूलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले आफूहरूलाई प्रभाव छोड्नुपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरू एमालेमा प्रवेश गराएका हुन् । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरू शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित गरेका छन् । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरू सारथी बन्ने उद्घोष गरे ।
कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इन्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।













