संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौँ : मन्त्री सिंह

1.05K
shares

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

सोमबार तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘पुर्खाले हामीलाई छोडेर गएका जुन रीतिथिति,परम्परा छन् । त्यसलाई जोगाउनको लागि वर्तमानमा सबै त्यसमा सक्रिय भएर सहभागी भएको खण्डमा जोगिने रहेछ । जसरी हाम्रा पुर्खाले सुम्पिएर गएका संस्कार संस्कृति छ त्यसलाई आउने पुस्ता,नयाँ पिँडीलाई सुम्पिनुपर्ने भएकाले वर्तमानमा जे जति गतिविधि गरिरहेका छौँ त्यसलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्छ ।’

त्यस्तै उनले धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरूलाई सुरक्षित र संस्थागत गर्दै लैजानुपर्ने भन्दै आउने दिनमा आम नेपाली जनता र राष्ट्रलाई समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘सबैले प्राप्त गरेको अधिकार सजिलैसँग प्राप्त गरेको होइन । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरूलाई सुरक्षित राख्दै र संस्थागत गर्दै ,आउँदै गरेको दिनमा आम नेपाली जनता र राष्ट्रलाई उन्नति र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्छ ।’